नेपालमा भाषायोजनाका प्रभावक तत्वहरूको अवस्था
Description
नेपालमा भाषायोजनाका प्रभावक तत्वहरूको अवस्था शीर्षकको यस लेखमा भाषिक विविधता, नेपालमा बोलिने विभिन्न भाषापरिवार अन्तर्गतका भाषाहरू, भाषिक भूगोल र भाषिक वितरणको अवस्था, भाषाको मानकीकरण, राज्यको नीति र अग्रसरता, लिपीको अवस्था, शब्दभण्डार, रोजगारीको अवसर, साहित्यिक समवृद्धिजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । विश्वका विभिन्न भाषाहरूका माझ नेपाली भाषाको स्थान, शक्ति तथा केही सीमाहरू रहेका छन् । यस भाषाको संरक्षण र संवर्धनका लागि नेपालमा के कस्ता प्रभावकहरू छन् भन्ने मूल समस्यामा यो अध्ययन केन्द्रित छ । राज्यको भाषासम्बन्धी नीतिको अधीनमा रही विद्यमान भाषाको भूमिकाअनुरूप प्रवर्धन गर्न तयार पारिएको कार्य योजना वा कार्यक्रम नै भाषा योजना हो । कुनै पनि राष्ट्र वा समाज त्यसमा पनि बहुभाषिक राष्ट्र र समाजको भाषा सम्बन्धी समस्याहरूको समाधान गरी राष्ट्रिय, स्थानीय, सामाजिक र सांस्कृतिक भाषा निर्धारण तथा स्तरोन्नयन गर्ने आधिकारिक र दीर्घकालीन प्रयासलाई नै भाषा योजना भनिन्छ । भाषायोजना निर्माण, भाषायोजना कार्यन्वयन र भाषायोजनाका मूलभूत उद्देश्य प्राप्तिको निम्ति आवश्यक तत्वहरुलाई नै भाषायोजनाका प्रभावक भनिन्छ । यस्ता प्रभावकहरु अनुकूल भए भने तिनले सकारात्मक प्रभाव पार्छन र भाषायोजनालाई सफल तुल्याउँछन् प्रतिकूल भए भने नकारात्मक प्रभाव पार्छन । पुस्तकालय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोत सामग्री सङ्कलन गरी यिनै सामग्रीको अध्ययन र पुनरावलोकनबाट गुणात्मक अनुसन्धान ढाँचामा विश्लेषित यस अनुसन्धान लेखमा नेपाली भाषा नेपाल देशसँग सम्बन्धित रहेकाले यसको विकास र विस्तारमा भाषायोजनाका प्रभावकहरूको राष्ट्रियस्तरमै भरपर्दो दीर्घकालीन उपयुक्त नीति र योजना बन्नुपर्छ र नेपाली भाषाको सम्मान गर्नु सिङ्गो राष्ट्रको सम्मान हो भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।